मुटुको भल्भ कसरी बिग्रिन्छ?

Jan 11, 2025

मुटुको भल्भ फेर्नका लागि पुरानो प्रविधि त हामीले पछिल्लो २० वर्षदेखि गरिरहेकै हो। नयाँ प्रविधि अन्तर्गत ओपन हार्ट सर्जरीमा पनि मुटुको भल्भ फेर्ने एवर्टिक भल्भ र माइटल भल्भ फेर्नलाई मिनिमल्ली इनभासिभ कार्डियाक सर्जरी भन्ने प्रविधि सुरू गरेका छौं।

त्यो भनेको ठूलो घाउ नबनाइकन सानो घाउ बनाएर गरिने ओपन हार्ट सर्जरी हो। जसमा छातीमा सानो चोटबाट नै ठूलो अपरेसन गर्न सम्भव हुन्छ। त्यसमा हड्डीलाई फोड्न र काट्न पर्दैन। जसले गर्दा बिरामीलाई चोटपटक पनि कम हुन्छ। त्यस्तै बिरामीको हस्पिटल बसाइ पनि कम हुन्छ। आइसियुको बसाइ पनि कम हुने अपरेसनपछि रक्तस्राव हुने, घाउ पाक्ने, निमोनिया हुने सम्भावना पनि घट्छ। ५ दिनमै बिरामी घर फर्किन मिल्छ। त्यस्तो खालको नविनतम प्रविधि नेपालमा मनमोहन सेन्टर लगायत अरू अस्पतालमा पनि हामीले सुरू गरेका छौं।

यसअघि मुटुको भल्भ फेर्दा छाती पूरै चिरेर गरिन्थ्यो भने अहिले काखीमुनि अथवा साइडबाट ४/५ सेन्टिमिटरको सानो प्वाल बनाएर त्यसबाट विशेष खाले ‍औजार छिराएर अपरेसन गर्न सकिन्छ। यो प्रविधिको अतिरिक्त खर्च लाग्दैन। चाँडो निको हुने र अस्पतालको बसाइ कम हुने भएकाले खर्च भने कम हुन्छ। यो प्रविधिलाई हामीले एउटा मात्र भल्भ फेर्ने अपरेसनमा गरेका छौं। दुई वा योभन्दा धेरै भल्भ फेर्ने अपरेसनका लागि भने छाती नै चिर्नुपर्छ।

मुटुको भल्भ फेर्ने अपरेसन काठमाडौंमा त्रिवि शिक्षण अस्पताल अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहिद गंगालाल हृदय केन्द्रमा हुन्छ। मिनी इन्भेजिव प्रविधिबाट जुन उपचार गरिन्छ त्यो भने मनमोहनमा मात्रै छ। नेपालमा अन्त कतै यो सेवा छैन।

मुटुको भल्भ कसरी बिग्रिन्छ?

मुटुको भल्भ बिग्रिने विभिन्न कारण छन्। पहिलो त जन्मजात नै हुन्छ। दोस्रो कारण बाथ मुटुरोगको कारणले बिग्रिन्छ। तेस्रो उमेर बढ्दै गएपछि पनि बिग्रिन सक्छ। र चौथो कारण भनेको मुटुको भल्भमा हुने संक्रमण हो।

नेपालमा मुटुको भल्भ बिग्रिने समस्या धेरै छ। बाथ मुटु रोगको कारणले धेरैको बिग्रिएको हुन्छ। हामीले अपरेसन गर्ने धेरै बिरामीको मुटुको भल्भ बाथ मुटु रोगकै कारणले बिग्रिएको हुन्छ।

मुटुको भल्भ फेरेपछि अपनाउनु पर्ने सचेतता
 

मुटुको भल्भ फेरिसकेका बिरामीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ। मुटुको भल्भ धातुको प्रयोग गरेको छ भने रगत पातलो गर्ने औषधि जीवनभरि खानुपर्छ। त्यस्तै, महिना/महिनामा रगतको परीक्षण गर्नुपर्छ। त्योसँगै रातो मासु, हरियो सागपात, अमिलो चिजहरू धेरै मात्रामा खान हुँदैन। केही समस्या भएको खण्डमा बाहेक कम्तीमा वर्षमा एक पटक मुटुको इको, इसिजी र छातीको एक्सरे गरेर हेर्नुपर्छ।

यस्ता बिरामीले रगत पातलो गर्ने औषधि खाने भएकाले कतै काट्ने चोटपटक हुने भयो भने रगत नरोकिन सक्छ। त्यसैले मुटुको भल्भ फेरेका बिरामीहरू चोटपटक लाग्नबाट जोगिन पर्छ। कहिलेकाहीँ औषधिको धेरै प्रयोगले आन्तरिक रक्तस्राव भएर शरीरमा निलो डाम बस्न सक्छ। त्यस्तो भएमा अवस्थामा तत्काल अस्पताल जानुपर्छ।

मुटुको भल्भ बिग्रिएपछि देखिने लक्षण

मुटुको भल्भ बिग्रिएमा धेरैजसो रूघाखोकी लागिरहने टन्सिल हुने र घाउ बनिरहने हुन्छ। त्यसको लागि इको कार्डियोग्राफी गरेर थाहा हुन्छ। अर्को भनेको मुटुको चाल छिटो/छिटो चल्ने हुन्छ। भर्‍याङ चढ्ने अनि उकालो चढ्दा स्वास्वा हुन्छ। त्यस्तै खुट्टा सुन्निने हुन सक्छ। मुटुको भल्भमा समस्या भए/नभएको पत्ता लगाउनलाई इको गर्नुपर्छ।

(सहप्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई त्रि.वि. मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोथोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख समेत हुन्।)

Related Posts